Kath khabar
अवकाश पछि बस्नको लागि निजी जग्गामा घर बनाइदिन राष्ट्रपति विद्या भण्डारीको सरकारसँग आग्रह

 

                     काठमाडौं, माघ १७ । कार्यकालभर विवादै विवादको घेरामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले अवकाश पछि बस्नको लागि आवास निर्माण गरिदिन सरकारसँग माग गरेको खुलेको छ ।

बालुवाटार स्रोतका अनुसार राष्ट्रपति कार्यालयबाट सोेबारे अनौपचारिक प्रस्ताव आएपछि बालुवाटारले सो प्रस्तावको ड्राफ्ट मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ । केही दिनमा नै यो निर्णय मन्त्रिपरिषद्ले गर्ने तयारी गरिरहेको पनि बालुवाटार स्रोतले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको अहिले बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा साढे २ तले घर छ । सो घरको अहिले मर्मतको काम सकिने चरणमा छ । तर सो घर साँघुरो हुने भन्दै राष्ट्रपति कार्यालयले नयाँ घर बनाइदिन सरकारसँग आग्रह गरेको हो । 

पूर्वराष्ट्रपतिलाई अवकाश पछि उपप्रधानमन्त्रीको हैसियतमा सरकारले सेवा सुविधा दिने गरेको छ । अहिले पूर्वराष्ट्रपतिले सचिवालयका लागि २ कर्मचारी पाउँछन् । सुरक्षाको लागि सेनाको १०-१२ जनाको टुकडी रहन्छ । बहालवाला राष्ट्रपतिको पारिश्रमिकको आधा हुनेगरी भत्ता, पत्रपत्रिका, टेलिफोन, सवारीसाधन र इन्धनको सुविधाको व्यवस्था गरिएको छ ।

पछिल्लो पटक २ असार, २०७७ मा मन्त्रिपरिषद बैठकले पूर्वविशिष्ट पदाधिकारीको सुविधावारे निर्णय गरेको थियो । निर्णय अनुसार, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरुले आफूले पदमा रहँदा प्रयोग गरिरहेको सवारीसाधन अवकाश पछि समेत प्रयोग गर्न पाउँथे । कानून बनाएर मात्रै पूर्व विशिष्ट पदाधिकारीहरुलाई सेवा सुविधा दिनुपर्ने भन्दै महालेखा परिक्षकको कार्यालयले हरेक निर्णय पछि सरकारको ध्यानाकर्षण गराउदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update