काठमाडौं, माघ १७ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. मर्ज हुने भएका छन् ।
दुबै संस्थाहरुबिच मंगलबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा एक कार्यक्रम आयोजना गरी दुबै कम्पनीहरु एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो । सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष मनोहर दास मूल र सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गर्नु भयो । उक्त कार्यक्रममा दुबै कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू लगायतका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ । मर्जर सम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारण सभामा लगिनेछ । त्यसै गरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डिडिए रिर्पोट समेतका आधारमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. को शेयर आदान प्रदान अनुपात क्रमश १०० : ८० कायम रहनेछ ।
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात Swap Ratio गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।
त्यसैगरी, मर्जर पश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को सञ्चालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट हाल रहनु भएका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहने व्यवस्था गरिएको छ ।