काठमाडौं, माघ १८ । मानिसमा क्यान्सर पहिचानका लागि युरोप तथा दक्षिण एसियामा ठूलो संख्यामा पाइने फर्मीका फ्युस्का (formica fusca) प्रजातिको कमिलाको प्रयोग गरिएको छ । अध्ययनका क्रममा यो कमिलाले क्यान्सर रोगीको सटिक पहिचान गर्न सकेको पाइयो ।
यसअघि मानिसमा सुरुवाती अवस्थामै क्यान्सरको पहिचानका लागि उच्च घ्राणशक्ति भएको कुकुरको प्रयोग गर्न सकिने भनेर वैज्ञानिकहरुले तालिम दिइरहेका थिए । तर कुकुरको तुलनामा कमिलाको क्यान्सर पहिचान गर्नसक्ने क्षमता उच्च रहेको फ्रेञ्च नेशनल सेन्टर फर साइन्टिफिक रिसर्चका शोधकर्ताहरुले ठहर गरेका छन् । उनीहरुको कमिला माथिको उक्त अध्ययनको रिपोर्ट प्रोसिडिंग्स अफ द रोयल सोसाइटीमा छापिएको छ ।
आफ्नो अध्ययनका क्रममा वैज्ञानिकहरुले मानिसको स्तन क्यान्सरका कोशिकाहरु निकालेर मुसामा प्रत्यारोपण गरे र मुसामा ती कोशिकालाई फैलिन दिए । त्यो विधिलाई जिनोग्राफ्टिङ भनिन्छ । त्यसपछि क्यान्सर कोशिका फैलिएका मुसाको पिसाब र अन्य स्वस्थ मुसाको पिसाबको नमूना संकलन गरी दुबैथरी पिसाबका नमूनालाई कमिलाको अगाडि राखियो । त्यसक्रममा कमिलाले क्यान्सर कोशिका फैलिएको मुसाको पिसाबलाई तुरुन्तै पहिचान गरे ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा मानिसको मृत्युको दोश्रो ठूलो कारण क्यान्सर हो । सन् २०१८ मा विश्वमा हुने हरेक ६ जना मध्ये १ जनाको मृत्यु क्यान्सरकै कारण भएको थियो ।