काठमाडौं, माघ १९ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बुधबार ९ केजी सुन सहित युएई मूलका क्यानेडियन नागरिक मोहमद कमल मोहगोबलाई पक्राउ गरेको छ।
दुबईबाट जहाजमा आएका मोहगोबलाई बुधबार राति पक्राउ गरिएको हो। उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।
पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर ८ वटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए ।
स्रोतका अनुसार सुन तस्करले भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाऊँदै आएका छन् । गत महिना १९ केजी सुन सहित २ सुडानी नागरिक पक्राउ परेका थिए । बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् ।