काठमाडौं, माघ १९ । केलियन एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति भएको खेलमा पीएसजी विजयी भएको छ। पीएसजीले मोन्टपेलियरमाथि ३-१ गोलले हरायो।
उक्त खेलमा एम्बाप्पेले दुईपल्ट पेनाल्टी मार्फत गोल गर्ने मौका चुकाएका थिए। खेलको दशौँ मिनेटमै पीएसजीले पेनाल्टीको अवसर पाएको थियो । तर एमबाप्पेले हानेको पहिलो प्रहार असफल भयो। उनको पेनाल्टी मोन्टपेलियरका गोलकिपर बेन्जामिन लेकोम्टेले असफल पारे ।
रेफ्रीको निर्णय अनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफ पछि पीएसजीले ३ गोल गर्यो ।
५५ औँ मिनेटमा फाबियन रुइज र ७२ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे तर ८९ औँ मिनेटमा मोन्टपेलियरका नोर्डीनले गोल गर्दै खेललाई २-१ को नतिजामा फर्काए । खेलको इन्जुरी समयमा वारेन इम्रीको गोलबाट पीएसजी ३-१ को स्थितिमा पुग्यो ।
अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले २१ खेलमा ५१ अंक बनाएको छ । २० अंक जोडेको मोन्टपेलियर १४ औँ स्थानमा छ ।