Kath khabar
गृहमन्त्रीको क्वार्टरमा ताला, चाबी रवि लामिछानेसँग

 

                                 काठमाडौं, माघ १९ ।  तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएको १ सातासम्म पनि सरकारी निवास छाडेका छैनन्। 

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको पुरानो नेपाली नागरिकता कायम नरहेकाले सांसद पद बदर हुने फैसला गरेपछि उनले त्यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएका थिए।

राजीनामा दिएको १ साता बितिसक्दा पनि उनले पुल्चोकस्थित मन्त्री क्वार्टर भने छाडेका छैनन्।  लामिछाने अहिले  मन्त्री क्वाटरमा आफू बस्दैनन् तर उनले त्यहाँको बुझबुझारथको काम भने गरेका छैनन्। ‘उहाँले ताला लगाएर जानुभएको छ। १-२ जना आर्मी पनि हुनुहुन्छ,’ स्रोतले भन्यो,‘बुझबुझारथको काम गर्नुभएको छैन।’

सर्वोच्चको फैसला पछि लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता पुन: प्राप्ति गरेका थिए। दिउँसो नागरिकता लिएका उनले साँझ  प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर आफूलाई फेरि गृहमन्त्री नियुक्त गर्ने अनुरोध गरेका थिए। गैरसांसद पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था अनुसार आफूलाई फेरि पुरानै जिम्मेवारी दिनुपर्ने उनको माग थियो।

त्यसपछि पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो पार्टीलाई गृहमन्त्री नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका थिए। यही विषयमा उनले अर्को सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन्। ओली रास्वपालाई नै गृह मन्त्रालय दिन तयार भए पनि प्रधानमन्त्री प्रचण्ड भने गृहमन्त्री आफ्नै पार्टीबाट बनाउने पक्षमा छन्। 

आफूले फेरि गृहमन्त्री बन्न लबिङ गरिरहेको र नयाँ गृहमन्त्री बनिनसकेको बेला लामिछानेले क्वाटरमा बुझबुझारथको काम नगरेका हुन्।  

पुल्चोकको मन्त्री क्वाटरको व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गत पर्छ। क्वाटर छोड्दा मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय बुझबुझारथ गर्नुपर्छ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारका अनुसार लामिछानेबाट क्वाटरबाट सर्ने प्रक्रिया पूरा नभएको बताए। ‘व्यवस्थापन हुँदैछ। उहाँहरू चाँडै नै सर्ने तयारीमा हुनुहुन्छ,’ उनले भने। 

यसअघि लामिछानेले पदबाट राजीनामा दिएकै दिनदेखि क्वार्टर छाडेको दाबी गरेका थिए। गृहमन्त्री हुँदा लामिछानेका प्रेस संयोजक रहेका नवराज पाण्डेले पनि राजीनामा दिएकै दिन मन्त्री क्वार्टर छाडेको बताए। 

‘त्यही दिन बेलुकी छाडेको हो। बालुवाटारमा राजीनामा बुझाएर उहाँहरू त्यहाँबाट निजी निवासमा जानुभएको थियो,’ उनले भने। गृहमन्त्री नियुक्त भएपछि लामिछाने पूजाआजा गरेर सरकारी निवासमा प्रवेश गरेका थिए।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update