Kath khabar
कञ्चनपुरको दोदा नदी तर्न ५ देखि ४० रूपैयाँ शुःल्क तिर्नुपर्ने

 

                             कञ्चनपुर, माघ २० ।  शुक्लाफाँटा नगरपालिका-१२ र लालझाडी गाउँपालिका-४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेवापत शुल्क तिर्देै आएका छन् । काठेपुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ ।

सोही गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहान देखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छिन् । पुल मार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन् ।

पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० रूपैयाँ र साइकल सवारले ५ रूपैयाँ बुझाउ छन् । रानाको यो पछिल्लो ३ वर्ष देखिको दिनचर्या हो ।

नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राखेकी छिन् । पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घर खर्च चलाएकी छिन् । पुल प्रयोग गर्नेहरुबाट उनले दैनिक १ हजार देखि २ हजार ५ सयसम्म रकम उठाउछिन् । श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन् ।

‘रोजगारीको छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौं’, उनले भनिन्, ‘हरेक वर्ष वर्खा सकिएपछि कात्तिक देखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।’ उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राखछिन् । नदीमा ७ महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायी रुपमा काठको पुल राखेको स्थान भन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन् । तर १ दशक अघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुंगो छैन ।

स्थानीय बोटसिंह रानाले भने, ‘कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौं ।’

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् ।

नदीमा काठको अस्थायी पुल राखेर शुःल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उनले सुनाए ।

दुवै नदीमा बनाइएका अस्थायी पुल मार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवत जावतका लागि प्रयोग हुने गरेको छ । ‘अस्थायी भएपनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ’, स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौं बरु सेवा पाएका छौं ।’

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update