काठमाडौं, माघ २२ । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको छ ।
उहाँ विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही साता अघिदेखि काठमाण्डौको थापाथलीस्थित यस नर्भिक इनटरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो ।
जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिनु भएको थियो । ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुबाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ । स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्नुभएको थियो ।
राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर गभर्नरको नियुक्ति दिँदा उहाँको उमेर मात्र २९ वर्ष थियो । उहाँ हिमालयन बैंकको संस्थापक पनि हुनुहुन्थ्यो । उहाँले ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहनु भएको थियो । स्वर्गीय राणाका २ छोरा र २ छोरी हुनुहुन्छ ।