Kath khabar
चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते

              

                चिली, माघ २२ । चिलीको दक्षिणी भागमा चर्को गर्मीको लहरका बीच दर्जनौं जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५५० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन् । मृत्यु हुनेमा दुई फायर फाइटरहरू पनि रहेको एजेन्सीले जनाएको छ । आधिकारिक तथ्याङ्क अनुसार कम्तिमा पैतालिस हजार हेक्टर जङ्गल नष्ट भएको छ । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।

राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ । नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ । ‘ मृतकहरूको संख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्गप्रशस्त भएको छ ।

डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन् । राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जंगलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन् ।

बोरिकका अनुसार अर्जेन्टिनाले अग्निनियन्त्रक र उपकरण पठाउने प्रस्ताव गरेको छ । ब्राजिल, उरुग्वे, मेक्सिको र स्पेनले पनि सहयोगको प्रस्ताव गरेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिनुभयो । “जलवायु परिवर्तनको विकासक्रमका कारण हामी डढेलोको जोखिममा रहेका देशहरूमध्ये एक बनिरहेका छौँ,” उनले भने । तीन वर्ष अघिसम्म चरम जस्तो देखिने डढेलोको अवस्था अहिले दिनप्रतिदिन सामान्य हुँदै गएको उनले बताए । तीमध्ये १० जनाको मृत्यु कन्सेप्सियन प्रान्तको सान्टा जुआना शहरमा भएको अधिकारीहरूले यसअघि बताएका थिए ।

सान्टा जुआनाका मेयर एना अल्बोर्नोजले भन्नुभयो, “इलाका निकै विकट छ र सडकहरू खराब भएका कारण डढेलो नियन्त्रण प्रयासमा समस्या भएको छ । “हाम्रो ग्रामिण जनसङ्ख्या निकै थोरै छ, एक परिवार एउटा पहाडको टुप्पोमा र दोस्रो अर्को डाँडामा बस्छन्, तर सहरी क्षेत्रमा भीडभाड छ,” उनले भने ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेमा हेलिकप्टरका चालक दलका दुई सदस्य समेत रहेको अधिकारीहरुले बताएका छन् । आगलागीमा परी एक जना अग्निनियन्त्रकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । यस क्षेत्रमा करिब दुई हजार ३०० अग्निनियन्त्रक र ७५ वटा विमान तैनाथ गरिएको छ । गर्मीका कारण सन् २०१७ मा पनि यस्तै घटना भएको थियो र उक्त घटना दोहोरिने डर पैदा भएको छ । सन् २०१७ मा उक्त क्षेत्रमा लागेको डढेलोमा परी ११ जनाको मृत्यु हुनुका साथै एक हजार ५०० घर जलेका थिए ।

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update