काठमाडौं, माघ २२ । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् । काठमाडौंस्थित यूरोपेली संघ (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको छ ।
पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।
‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । रुसको युक्रेन विरुद्धको आक्रमक युद्धले नेपाल लगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ ईयूले जारी गरेको विज्ञप्तिमा आयुक्त उर्पिलाइनेनले भनेकी छन्,‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु । ईयू आफ्ना साझेदारहरुलाई अघि बढाउन डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंकहरु बढाउन तथा विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न सकारात्मक छ ।’
नेपालले सन् २०२६ मा अल्पविकसित देश (एलडीसी) स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ । सन् २०२१ देखि २०२७ सम्म नेपालको लागि यूरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम (एमआईपी) मार्फत सहयोग गरेको छ ।
एमआईपी मार्फत युरोपेली संघले नेपाल सरकारको अनुरोध अनुसार कोभिड-१९ महामारीको प्रभाव पार गर्न नेपालको हरित, रिजिलेन्ट र समावेशी विकास (ग्रिड) प्रयासमा योगदान दिने ईयूले जनाएको छ ।
ईयूको अनुसार तीन कुरामा आयुक्त उर्पिलाइनेनको भ्रमणको प्राथमिकता हुनेछ । पहिलो, नेपालमा हरित अर्थतन्त्र, हरित रोजगारी र दिगो वृद्धि हासिल गर्न स्थानीय स्तरमा भएका प्रयासहरूलाई समर्थन गर्न समावेशी हरित वृद्धि गर्ने रहेको छ ।
दोस्रो, क्षेत्रीय असमानता र मानव विकास सूचकांकहरूमा पर्याप्त ध्यान दिँदै, विशेष गरी शिक्षा र पोषणको क्षेत्रमा जलवायु-उत्थानशील विकासका लागि सरकारी प्राथमिकताहरूसँग मेल खाने क्षेत्रहरूमा मानव पूँजी विकास गर्ने रहेको छ ।
तेस्रो प्राथमिकतामा राम्रो सुशासन रहेको छ । ईयू र यसका सदस्य राष्ट्रहरू नेपालमा सुशासन, द्वन्द्वबाट शान्तिमा लोकतान्त्रिक संक्रमण, संस्था र नागरिक समाजका दीर्घकालीन समर्थकहरू छन् भन्न सन्देश दिन रहेको छ ।
आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति तथा महिला अस्पतालमा रहेको ह्युमन मिल्क बैंकको भ्रमण गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्री पद्म गिरीसँग सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रम (ईयू, जर्मनी र युनिसेफको सहयोगमा) प्रति ईयूको प्रतिबद्धता नवीकरण गर्ने उल्लेख छ । यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार गर्न जारी राख्ने ईयूले जनाएको छ ।
आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।