काठमाडौं, माघ २३ । टर्की र सिरियामा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६०० भन्दा बढी पुगेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भूकम्पपछि कम्तिमा ६६ वटा पराकम्पन गएको अधिकारीहरुले बताएका छन् । भूकम्पले भवनहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । भूकम्पका कारण टर्की र सिरियामा दर्जनौं भवन भत्किएका छन् भने सयौं मानिस भग्नावशेषमा फसेका छन् । कतिपय स्थानमा सवारी साधनहरु चकनाचुर भएका छन् । भग्नावशेषमा पुरिएकाहरुलाई उद्दार गर्ने काम भइरहेको छ ।
अहिले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ । टर्कीका राष्ट्रपति तैयब एर्दोगानले ट्विट गर्दै भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोलीको कार्य जारी रहेको जानकारी दिएका छन् ।