Kath khabar
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ४ हजार भन्दा बढीको ज्यान गयो, हजारौं घाइते

             

                 सिरिया, माघ २४ । टर्की र छिमेकी सिरियामा सोमबार गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।

भूकम्पका कारण कयौं भवन भत्किएका छन् भने परकम्पको धक्का अझै महसुस भइरहेको छ ।  भग्नावशेषमा फसेका मानिसहरूको खोजी कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। धेरै मानिसहरू भत्किएका भवनहरूको भग्नावशेषमुनि दबिएका छन् । उद्धारकर्ताहरूले भत्किएका भवनहरूबाट बाँचेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

भूकम्प प्रभावित क्षेत्रका मानिसहरूले सपिङ मल, स्टेडियम, मस्जिद र सामुदायिक केन्द्रमा शरण लिएका छन् । धेरै मानिसहरु आफ्ना आफन्तको खोजीमा क्षतिग्रस्त भवनहरु नजिक भेला भएका छन्। उद्धारकर्ता र विभिन्न शहरका बासिन्दाहरूभूकम्पमा ध्वस्त भएका टर्कीको अस्पताल र सिरियाका धेरै अस्पतालहरूबाट नवजात शिशुसहित बिरामीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नुपरेको थियो ।

भूकम्पको केन्द्रविन्दु टर्कीको गाजियनटेप शहरबाट करिब ३० किलोमिटर टाढा रहेको छ । यो क्षेत्र ठूलो भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ र सन् १९९९ मा उत्तरपश्चिम टर्कीमा यस्तै शक्तिशाली भूकम्पमा परी १८ हजार मानिसको मृत्यु भएको थियो । सिरियाका पुरातन वस्तु तथा सङ्ग्रहालयका महानिर्देशकले भूकम्पका कारण प्राचीन समयमा भूमध्यसागरमा नजर राख्ने क्रिस्चियन क्रुसेडरहरूले बनाएका मर्काब वा वाचटावरका पर्खाल, मीनार र केही अन्य पर्खालहरू ध्वस्त भएको बताए।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सात दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले एर्दोगानलाई फोन गरी यस संकटको घडीमा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सहयोगी टर्कीप्रति समवेदना व्यक्त गर्दै सहयोगको प्रस्ताव राखेका छन्। ह्वाइट हाउसले टर्कीको प्रयासलाई सहयोग गर्न खोजी र उद्धार टोली पठाएको जनाएको छ।

Photo : CGTN

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update