ताप्लेजुङ, माघ २४ । नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल हो । कञ्चनजंगा क्षेत्रमा बसोवास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्यांक छ । त्यस्तै, पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ ।
कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा समस्या हुन थालेको बताए । सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् । हिमाल कालो चट्टान जस्तै बन्दै गयो भने कालो चट्टान हेर्न त पर्यटक आउँदैनन् होला भन्ने चिन्ता लागेको पर्यटन व्यवसायी सेराप शेर्पाले बताए ।
कञ्चनजंघा आउने पर्यटक लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा सानो-ठूलो लगानीको ५२ होटेल सञ्चालनमा रहेको परिषद्को तथ्यांक छ । फक्ताङ्लुङ गाउँपालिका-६ ग्याप्लामा ७ करोड रुपैयाँ भन्दा माथिको लगानीमा बनेको सिंगी नामजोङ होटेल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुद्र सतह देखि ३,५०० मिटर देखि ४,५०० मिटर उचाइमा १ करोड भन्दा बढी लगानीमा बनेका ४ वटा होटेल सञ्चालनमा रहेको कञ्चनजघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । अन्य ८० लाख देखि माथिका लगानीमा होटेल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ ।
विगतका वर्षमा कञ्चनजंघा पदर्मागमा आन्तरिक तथा बाह्य पर्यटक खचाखच हुने कञ्चनजंघा पदमार्ग अहिले सुनसान भएको छ । गत भदौ देखि मंसिर अर्थात् ४ महिनामा ४३९ जान बाह्य पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गर्न पुगेको कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले बताए । लिम्बूका अनुसार मंसिर यता भने पर्यटकको आगमन शून्य छ ।
०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा हिमालमा आएको कञ्चनजंघा क्षेत्र व्यवस्थापन परिषद्को तथ्यांकमा उल्लेख छ । सार्क राष्ट्रबाट २५ पुरुष र ४ महिला पर्यटक कञ्चनजंघा हिमालमा आएका हुन् । कञ्चनजंघा हिमालमा आउने विदेशी पर्यटकको तथ्यांकलाई २१ वर्ष पछाडि फर्केर हेर्दा ०५६ मा पुग्न सकिन्छ । ०५६ मा ७९९ विदेशी पर्यटक कञ्चनजंघा घुमघाम गर्न आएको तथ्यांक छ । ०५७ मा ८७३ विदेशी पर्यटक आएका छन् । ०५७ देखि ०७७ सम्म ११,१९७ विदेशी पर्यटक कञ्चनजंघा हिमाल अवलोकन गर्न आएको परिषद्को तथ्यांकले देखाएको छ ।
चाँदी जस्तै सेताम्य भएर टल्किने हिमालमा हिउँ पग्लेर गएसँगै कालो चट्टान जस्तै बन्दै गएको छ । गत वर्ष मङ्सिरको तेस्रो साता देखि नै ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात शुरु भएको थियो । तर, यस वर्ष भने अझै हिउँ पर्न सकेको छैन । हिउँ नपर्दा हिमालको सुन्दरता समेत गएकामा पर्यटन व्यवसायी चिन्तित भएको घुन्साका होटेल व्यवसायी पेमा शेर्पाको भनाइ छ।