काठमाडौं, माघ २६ । जंगी अड्डामा संचालित दुई दिने प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक २०७९ को बुधबार प्रधान सेनापति महारथी प्रभुराम शर्माले समापन गर्नुभएको छ ।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी शर्माले प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरु युनिट तथा सव-युनिटहरुका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुको साथै नेपाली सेनाको मेरुदण्डको रुपमा रहँदै आएको कुरा बताउनु भयो ।
प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदारहरुले प्रदर्शन गर्ने व्यवसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासबाट पल्टनको तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरुमा नतिजामुखी उपलब्धी हासिल गर्न निर्देशन दिनुभयो ।
सम्बोधनको क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरुको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरुको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त रायसुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरुलाई निर्देशन समेत दिनुभयो ।
नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्नभती हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुवेदार/जेष्ठ सुवेदार हो । पल्टनको संस्कृति, परम्परा र रीतिरिवाज बारे जानकार तथा जिम्मेवार प्रमुख सुवेदार/जेष्ठ सुवेदारलाई नेपाली सेनामा अति महत्वपूर्ण नियुक्तिका रुपमा लिइन्छ । यस नियुक्तिमा रहने व्यक्तिहरुले सैनिक ईकाईहरुमा अन्यदर्जा र अधिकृतको बीचमा समन्वयकर्ताको भूमिका निर्वाह गर्दछन् ।
माघ २४ गते कार्यरथी उपरथी सागर बहादुर थापाले उद्घाटन गर्नु भएको समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुको उपस्थिती रहेको थियो ।