काठमाडौं, माघ २६ । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीसमक्ष आग्रह गरेको छ । मन्त्री किराँतीसंग सिंहदरबारमा बुधबार भएको भेटमा चेम्बरले ‘एक नेपाली एक पर्यटक’ रणनीतिक योजना बनाएर लाखौं पर्यटक भित्र्याउन सकिने सुझाव दिएको हो ।
मन्त्री किराँतीलाई चेम्बरले बिभिन्न १८ बुँदे सुझाव समेत दिएको छ । सुझाव पत्र पेश गर्दै अध्यक्ष मल्लले भन्नुभयो, ‘विदेशमा रहेका नेपाली राजदूतावास, गैरआवासीय नेपालीलाई परिचालन गरेर लाखौं पर्यटक भित्र्याउन सकिन्छ, यसका लागि ठोस रणनीतिक योजना आवश्यक छ ।’ मुलुकको अर्थतन्त्र संकुचन भएको अवस्थामा पर्यटकीय गतिविधि बढाएर अर्थतन्त्रलाई चलायमान एवं समृद्धि हासिल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
नेपालका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तराष्ट्रिय ठूला सञ्चार माध्यमबाट प्रर्वद्धन गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ८ हजार मिटर भन्दा माथिका ८ वटा हिमाल, पशुपति, लुम्बिनी, लगायतका क्षेत्रको अन्तराष्ट्रिय स्तरमै प्रर्वद्धन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचीमा परेका स्थललाई संरक्षण र प्रर्वद्धन गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
नेपालको हवाई क्षेत्रलाई युरोपेली युनियन इयूको ब्ल्याक लिस्टबाट हटाउनका लागि कूटनीतिक पहल गर्न समेत अध्यक्ष मल्लले मन्त्री किराँतीसमक्ष आग्रह गर्नुभयो । यसैगरी नेपाल वायुसेवा निगम र अन्तराष्ट्रिय विमानस्थलको संरचनागत सुधार गरेर नेपाल एयरलाइन्सको जहाज थप गर्ने प्रक्रिया अविलम्व शुरु गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो ।
विशाल जनसंख्या भएका चीन र भारतलाई लक्षित गरेर छुट्टै प्याकेज ल्याउन समेत उहाँको सुझाव छ । अध्यक्ष मल्लले भन्नुभयो, ‘भारतीय पर्यटकले नेपाल आउँदा भारु अधिकतम २५ हजार मात्रै साथमा ल्याउन पाउने सीमाका कारण पर्यटन व्यवसायले वाञ्छित लाभ पाउन सकेको छैन । यसलाई बढाएर कम्तिमा २ लाख ५० हजार लिएर आउन वातावरण सिर्जना गरिनुपर्दछ, ।’
मन्त्री किराँतीसमक्ष चेम्बर पदाधिकारीले विदेशी पर्यटकलाई निश्चित समयका लागि भिसा शुल्क निशुल्क गर्नुपर्ने बताएका थिए । चेम्बर पदाधिकारीसँगको भेटमा मन्त्री किराँतीले पर्यटन गतिविधी बढाउन विदेशी पर्यटकलाई केही समयका लागि भिसा सहज बनाउन योजना बगाईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अन्य देशको तुलनामा नेपाल आउने पर्यटकका लागि भिषा शुल्क देखि हवाई भाडा सम्म निकै महङ्गो पर्ने गरेकाले नेपाल आर्कषक गन्तव्य बन्न सकेको छैन । यसका लागि सहजीकरण शुरु गरेको छु, ।’ उहाँले पर्यटन क्षेत्रको विकासका लागि थुप्रै सुधार आवश्यक रहेको बताउनुभयो ।