ढाका, माघ २६ । साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा साँझ ६ बजेदेखि सुरु हुनेछ ।
हालसम्म बंगलादेशले सर्वाधिक दुईपटक यू-२० साफको उपाधि जितेको छ । उसले २०१८ र २०२१ मा उपाधि हात पारेको थियो । नेपालले भने हालसम्म यू-२० साफको उपाधि जित्न सकेको छैन । नेपाल सन् २०१८ को साफमा उपविजेता भएको थियो ।
नेपाल यसपटक बंगलादेशलाई हराउँदै उपाधि हात पार्ने रणनीतिमा छ । तर, अपराजित बंगलादेशलाई हराउँदै नेपाललाई उपाधि जित्न सहज भने पक्कै छैन । अघिल्लो चरणमा बंगलादेशसँग नेपाल ३-१ ले पराजित भएको थियो । नेपाल सो हारको बदला लिँदै बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्न चाहन्छ । अघिल्लो खेलमा भारतलाई हराएकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ ।
जारी प्रतियोगितामा बंगलादेशले नेपाललाई ३-१ ले हराउँदा भारतसँग गोलरहित बराबरी खेलेको थियो । उसले तेस्रो खेलमा भुटानलाई ५-० ले हरायो ।नेपालले पहिलो खेलमा बंगलादेशसँग हार बेहोर्दा दोस्रो म्याचमा भुटानलाई ४-० तथा तेस्रो खेलमा भारतलाई ३-१ ले हरायो । नेपाल अब जारी प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ ।