Kath khabar
ए डिभिजन लिगमा ५ विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत

 

                        काठमाडौं, माघ २६ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग क्लबले अब ५ जना विदेशी खेलाडी आबद्ध गर्न पाउने व्यवस्था गरेको छ। 

एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अब ३ जना विदेशी, १ जना एसियाली र १ जना दक्षिण एसियाली खेलाडी गरी ५ खेलाडी आबद्ध गर्न पाइनेछ। यसअघि ४ जना मात्र विदेशी खेलाडी आबद्ध गर्न पाइने नियम थियो। प्लेइङ-११ मा ४ जना विदेशी खेलाडी खेलाउन पाइनेछ।

‘एसियाली फुटबल महासंघको रेगुलेसनअनुसार नै हामीले खेलाडीको कोटा बढाएका हौं। रेगुलेसनमा ६ जना विदेशी खेलाडी राख्न पाउने नियम छ,’ उनले भने, ‘क्लबसँगको छलफल पछि यो निर्णय गरेका हौं।’

दर्जन बढी राष्ट्रिय खेलाडी अस्ट्रेलिया पलायन भएपछि खेलाडी अभाव भएकाले ए डिभिजन लिगमा विदेशी खेलाडीको कोटा बढाइएको विषयलाई पनि शाहले स्विकार गरे। तर उनले विदेशी खेलाडी राख्दा लिगमा प्रतिस्पर्धा बढ्ने जिकिर गरे।

फागुन १९ गतेबाट यस संस्करणको सहिद स्मारक ए डिभिजन लिग हुँदैछ। डबल राउन्ड रोबिनको आधारमा हुने लिगका १८२ खेलहरु दशरथ रंगशाला, च्यासल खेल मैदान र एन्फा कम्प्लेक्सस्थित खेल मैदानमा संचालन गरिनेछ।

ए डिभिजन लिगका लागि सहभागी सबै १४ वटा क्लबले लिगको तयारीको पहिलो किस्ताको १५-१५ लाख रुपैयाँ पाइसकेका छन्। लिग च्याम्पियन हुने टिमले ७५ लाख, द्वितीय हुनेले ५० लाख र तृतीय हुनेले २५ लाख पुरस्कार पाउने छन्। 

लिगमा १ क्लबलाई फेयर प्ले अर्वाड स्वरुप ३ लाख पुरस्कार उपलब्ध गराइने छ। प्रतियोगितको सवोत्कृट खेलाडीलाई  ३ लाख पुरस्कार उपलब्ध गराइने छ। त्यस्तै उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान  २-२ लाख पुरस्कार उपलब्ध गराइने छ। लिगको १ उदयमान खेलाडीलाई इर्मजिङ्ग प्लेयर घोषणा गरेर नगद रु १ लाख ५० हजार दिइने छ।

हरेक खेलको विजेता टोलीलाई ५० हजार रूपैयाँ पुरस्कार दिइने छ। खेल बराबरी भएको खण्डमा दुवै टोलीलाई समान २५-२५ हजार दिइने छ। हरेक खेलको उत्कृष्ट खेलाडीलाई प्लेयर अफ द म्याच स्वरुप १० हजार रुपैयाँ दिइनेछ। 

ए डिभिजन लिगको अनुमानित लागत करिब १२ करोड रुपैयाँ रहेको छ। ए डिभिजन लिगका लागि एन्फाले सरकारसँग ३ करोड रुपैयाँ माग गरेको थियो। उक्त रकमका लागि पत्राचार गरेकोमा छलफल भइरहेको एन्फाको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update