Kath khabar
हिमालय एयरलाइन्सले काठमाडौं-बेइजिङ उडान ३ वर्षपछि पुनः सुचारू गर्दै

 

                    काठमाडौं, माघ २७ ।  हिमालय एयरलाइन्सले शनिबार (भोलि) बाट चीनको राजधानी बेइजिङमा फेरि उडान सुरू गर्ने भएको छ। हिमालयले यो रुटमा फेरि नियमित उडान शुरू गर्ने भएको हो। 

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायु सेवा प्रदायक हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङ गन्तब्यमा आशातित व्यापार गर्ने जनाएको छ । 

१५८ सिट क्षमताको एयरबस ३२० जहाजले काठमाडौंबाट बेइजिङ तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा १ उडान गर्ने जनाएको छ। नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालयले बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा व्यावसायिक उडान शुरु गरेको थियो । कोरोना भाइरसको महामारीसँगै चीनका अधिकांश गन्तब्यको उडान अवरुद्ध भएको थियो। 

चीनले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई चीनमा उडानको अनुमति खुला गर्दै गइरहेको छ। यसैअनुरूप हिमालयले पनि भोलिबाट उडान सुरू गर्ने कम्पनीले जनाएको छ।

सिधा उडान मार्फत चीनबाट नेपाल आउने यात्रुहरूलाई अझ बढी सेवा प्रदान गर्ने र त्यसको साथै पर्यटन र व्यापारमा टेवा पुर्‍याउने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले बताए। 

"यो कनेक्टिभिटी पुनः स्थापना गर्न पाउँदा धेरै खुसी छौं र बढ्दो फ्रिक्वेन्सीको साथ हाम्रा यात्रुहरूलाई सेवा प्रदान गर्न तत्पर छौ" उनले भने। 

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update