काठमाडौं, माघ २८ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी हवल्दार निलम्बनमा परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो । प्रहरीका अनुसार घटनाका विषयमा अनुसन्धान गर्न कारबाही प्रक्रिया अगाडि बढाइने क्रममा उनलाई निलम्बन गरिएको हो ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहमाथि सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेको थियो। शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा पनि अस्पताल परिसर भित्रै उनीमाथि सांघातिक आक्रमण भएको थियो । चिकित्सकमाथिको आक्रमणको विरोधमा शनिबार प्रर्दशन समेत भएको छ ।