म्याग्दी, माघ २९ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडक सोमबार देखि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ। स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी-जोमसोम सडकको बेनी-गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले आगामी फागुन १ देखि १५ गतेसम्म बिहान ६-८, दिउँसो ११ः३० देखि १ः३० र राति ८ः३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवतजावत बन्द गरिने जानकारी दिए।
एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई सहज आवतजावत र साना सवारी डल्लेपिपल-राहुवडा-गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाइने भएको छ। सडक विस्तार र यातायात सञ्चालनसँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य प्रभावित बनेपछि समय तालिका बनाएको उनले बताए।
निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजना मार्फत प्रशासनमा समय तालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले २ किलोमिटर १ सय २ मिटर दूरीको बेनी-गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय-मङ्गलादेवी-सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४ सय ३६ मा ठेक्का सम्झौता गरेको थियो।
सम्झौता लगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तीव्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताए। ८५ जना मजदुरका साथै ३ वटा डोजर परिचालन गरिएको छ। २ वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाइमा कालोपत्र गरिने भएको छ।
बेनी नगरपालिकाको ८, ६ र ९ नं वडाको भूगोल समेटिएको ३ किलोमिटर दूरीको यो सडक विसं २०५३ मा मार्ग खुलेको थियो। यो म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी-जोमसोम सडकको प्रवेशविन्दु हो।
चारदेखि छ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवतजावत नहुने, फस्ने र जाम हुने गर्दछन्। यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकले प्रयोग गर्दछन्।