Kath khabar
अनेरास्ववियु महाधिवेशनको तयारी पूरा, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

 

                  काठमाडौं, माघ २९ ।   नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ ।

यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिइन् । ७ वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएको महाधिवेशन तत्कालीन नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता भएपछि हुनसकेको थिएन ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराका साथ काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा हुन महाधिवेशन हुदैँछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने अनेरास्ववियुका अध्यक्ष बरालले जानकारी दिइन्। आगामी २ वर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी ३ आयोग निर्वाचित हुनेछन् ।  महाविधेशनमा १ हजार ५ सय ७३ प्रतिनिधि सहभागी हुँदैछन् ।

“नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमवाट नेतृत्व चयन गर्ने छौँ,” उनले भनिन् । नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव समिक वडाल रहेका छन् ।

निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिन मार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उनले बताइन्। महाधिवेशनमा नयाँ पुस्तामा देखिरहेको बहुदलिय राजनीतिप्रतिको अस्वभाविक धारणा र विद्यार्थी आन्दोलनको औचित्यमाथि उठिरहेको प्रश्नमाथि छलफल र समीक्षा गरिने महासचिव समिक बडालले जानकारी दिइन् ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update