Kath khabar
सौराहाको सडकमा शुरू भयो ३ दिने फुड फेस्टिवल

 

                        चितवन, माघ २९ ।  सौराहाको सडकमा आइतबार देखि खाना महोत्सव (फुड फेस्टिवल) शुरू भएको छ।  रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान) सौराहाले प्रणय दिवसको अवसर पारेर ३ दिन फुड फेस्टिवल आयोजना गरेको हो।  फेस्टिवल शुरू हुनुअघि विभिन्न संघ, संस्था र समुदायको झाँकी निकालिएको थियो।

रेवान सौराहाले हरेक वर्ष फेस्टिवल आयोजना गर्दै आएको छ। अहिले १७ औं संस्करण गर्न लागेको हो। माघ २९ गते शुरू भएको फेस्टिवल फागुन २ गतेसम्म चल्ने र फेस्टिवलले सौराहामा पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास आयोजकको छ।

चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वन र वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकका लागि विश्वमै चर्चित गन्तव्य हो। यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष फेष्टिवल आयोजना गर्ने गरेको रेवान सौराहाका अध्यक्ष नरेश गिरीले बताए।

‘सडकमै खाऔं, सडकमै रमाऔ’ भन्ने नाराका साथ हात्तीचोक देखि राप्ती ड्याक सम्म र मल्लुचोक देखि गैंडाचोक सम्मको बजार क्षेत्रमा व्यवसायीहरूले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई पस्किने फेस्टिवलका संयोजक ध्रुव गिरीले बताए।

‘सौराहामा आएका स्वदेशी, विदेशी पर्यटकहरूले प्रणय दिवस मनाउन अन्य ठाउँहरूको खोजी गर्नै पर्दैन,’ गिरीले भने, ‘सौराहा आएर रमणीय दृश्य अवलोकन गर्ने, खानाको स्वाद लिने र मिठो आतिथ्यतामा प्रणय दिवस मनाउने वातावरण हामीले बनाएका छौं।’

फेस्टिवलका लागि हात्तीचोक देखि गैंडाचोक सम्मको सडक माथि डाली र बत्ती राखेर सौराहालाई झिलिमिली बनाइएको छ। पोलहरूमा राष्ट्रिय झण्डा र ध्वजा, पतकाहरू टाँगिएका छन्। संयोजक गिरीले सौराहाको मुख्य बजारमा प्रवेश गर्ने बित्तिकै पर्यटकलाई नयाँ सौराहाको अनुभूति दिलाउने दाबी गरे।

फेस्टिवलको अर्को आकर्षण जनजातिहरूको झाँकी र साँस्कृतिक कार्यक्रम रहेको सहसंयोजक नवीन नेपालले बताए। स्थानीय, स्वदेशी तथा विदेशी खानाका साथै स्थानीय कला संस्कृति, भेषभूषाको प्रवर्द्धन गर्ने उद्देश्य रहेको नेपालले बताए। चितवनमा रहेका विभिन्न जातजातिको कला, संस्कृति, आमा समूह, भजन समूह लगायत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता गरिने उनले बताए।

रेवान सौराहाका महासचिव सूर्यबहादुर रिमालले सौराहालाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, उज्यालो सौराहालाई निरन्तरता, शैक्षिक विपन्न कोष मार्फत् विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग, वातावरण संरक्षण लगायतका उद्देश्य पनि रेवानको रहेको बताए।

फेस्टिवलमा दैनिक ५ हजार पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ। करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

फेस्टिवलमा माघ २९ र फागुन १ गते साँझ ५ बजेदेखि राति १० बजेसम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजेदेखि राति ११ बजेसम्म कार्यक्रम हुनेछ।
 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update