Kath khabar
ललितपुरको ग्वार्कोमा शनिवारदेखि फ्लाइओभर निर्माण कार्य सुरु

 

                ललितपुर, माघ २९ । ललितपुरको ग्वार्कोमा फ्लाइओभर निर्माण कार्य सुरु भएको छ । शनिवारदेखि फ्लाइओभर निर्माणका लागि सडकको कालोपत्रे उप्काउन थालिएको छ। आशिष समानान्तर रेलिगेयर जेभीले बनाउने जिम्मा पाएको फ्लाइओभर मुलुककै पहिलो फ्लाइओभर हुनेछ । सवारीसाधन आवागमनका लागि शुक्रबार राति सो क्षेत्रअन्तर्गतको चक्रपथमा राखिएका डिभाइडर हटाइएको थियो।

फ्लाइओभरको ओभरपासमा सवारीसाधन चढ्नका लागि बायाँतर्फ ११० मिटर र दायाँतर्फ १८० मिटरको याम्प निर्माण गरिने फ्लाइओभरको कुल लम्बाइ ४५५ मिटर हुनेछ भने उचाइ ५.५ मिटरको हुनेछ। यसको ग्राउन्ड क्लियरेन्स ६ मिटर हुनेछ । यसअघि निर्माण व्यवसायीले तयार गरेको डिजाइनमा सामान्य परिवर्तन गर्दा स्वीकृतिमा केही ढिलाइ भएको थियो।

फ्लाइओभर निर्माणको काम नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने र आउने सम्पूर्ण सवारीसाधनलाई ग्वार्को चोकभन्दा छ सय मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै र बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुवाहक, मालवाहक तथा दुईपाङ्ग्रे सवारीसाधनलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीसाधनलाई द्रुत मार्गबाट सञ्चालन गरिएको छ। फ्लाइओभर निर्माणको काम चौध महिनाभित्र सक्ने लक्ष्य छ।

निर्माण सम्पन्नपछि चक्रपथका सवारीसाधन फ्लाइओभर हुँदै पास हुने र पाटन र ग्वार्कोलगायतका ठाउँबाट आउने सवारीसाधन फ्लाइओभर मुनिबाट पार हुनेछन् । फ्लाइओभर निर्माणले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास गरिएको छ ।


 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update