पोखरा, फागुन ३ । विगतमा नेपालमा आमसञ्चारका लागि कटुवाल प्रथा निकै उत्तम माध्यम थियो । कटुवालले दिएको सूचनाका आधारमा गाउँले भेला हुने र सो आवाजअनुसार उनीहरुले अन्य धेरै काम गर्दथे । अहिले सेटेलाइट र इन्टरनेटको प्रयोगका कारण आमसञ्चार क्षेत्रमा पनि निकै परिवर्तन आइसकेको र नेपाली परम्परागत रैथाने सञ्चार प्रणाली धेरै गाउँबाट बिस्तारै हराउन थालेको छ ।
लोप हुने अवस्थामा रहेको कटुवाल प्रथा भने पोखरा महानगरपालिका-१६ अर्मलाकोट गाउँमा अझै कायमै छ । यहाँका डिलप्रसाद जैसीले यो काम गरिरहेका छन् । ७६ वर्षका उनको स्वरमा ठिटोको जस्तो दम छ । कटुवाल जैसीको आवाजले अर्मलाकोटका ७० घर परिवारको कान ठाडो ठाडो हुन्छ । उनको आवाज गुन्जिए पछि गाउँलेहरुले गाउँमा के नयाँ काम हुन थाल्यो भनेर कान थापेर सुन्छन् ।
गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको कार्यक्रममा सूचना पुर्याउने काम जैसी नै गर्नुहुन्छ । उहाँको कामलाई अर्मलाकोटमा ‘घोक हाल्ने’ भनेर बुझिन्छ । पछिल्लो समयमा त्यस गाउँको होमस्टेमा पाहुना जाँदा जैसीको दिन गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ । “गाउँ अलि धेरै क्षेत्रमा फैलिएकाले १ ठाँउबाट मात्र घोक फिराउँदा नसुनिएला कि भनेर ३ ठाउँमा गएर घोक हाल्छु”, उनी भन्छन्, “गाउँमा हुने भेला, सार्वजनिक कार्यक्रम, बैठक, असिना पर्दा, विवाह हुँदा, मानिसको मृत्यु हुँदा घोक हाल्ने हो ।”
यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन । सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परा कायमै रहँदा जैसीलाई भ्याइनभ्याइ भएको हो । गाउँलेले कटुवालको कामका लागि छनोट गरेकाले उनले विगत ५ वर्षदेखि यो काम थालेका हुन् । “म भन्दा पहिला शेरबहादुर परियारले यो काम गथ्र्यो”, कटुवाल भन्छन्, “उसले के बेइमान गरेछ अनि मैले नै गर्न थालेको हुँ । शेरबहादुर भन्दा पहिला पनि मैले नै गर्थें ।”
अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउँछन् । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाए पछि बल्ल ढुक्क हुन्छु,” उनी भन्छन् । गाउँमा पाहुना आएपछि सबैलाई फोन गरिराख्नु भन्दा कटुवाल घोकाउँदा सजिलो हुने अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङको भनाइ छ । सूचना र प्रविधिको युगमा धेरै स्रोत साधन भए पनि परम्परा देखि चल्दै आएको चलनलाई जोगाएर राख्नुपर्ने उनको तर्क छ ।
जैसी भन्दा अगाडि शेरबहादुर परियार, सिंह बहादुर परियार, काजीमान नेपाली र कृष्ण बहादुर परियारले कटुवालको काम गरिसकेको कटुवाल जैसी जानकारी दिन्छन् । “गाउँमै कटुवालको काम गर्न पाउँदा उनलाई पनि खुसी लागेको छ । नजिकका अरू गाउँमा कटुवाल प्रथा छैन । यो प्रथालाई जोगाएर राख्नुपर्छ भनेर लागेको छु”, जैसी भन्छन्, “तर परिश्रमिकमा भने आफ्नो चित्त बुझेको छैन ।’’
कटुवाल घोके बापत जैसीले प्रत्येक घरबाट दिने २ पाथी कोदो बाली उठाउँछन् । ७० घरबाट कोदो उठाउँदा करिब ७ मुरी कोदो जम्मा हुन्छ । २ छोराहरु बजार झरे पनि आफू र श्रीमती पालिन यसले नपुग्ने गरेको उनको गुनासो छ । जैसी भन्छन्, “७ मुरी कोदोले पुग्न त पुग्छ नि तर कोदो मात्र खाएर भएन तरकारी कताबाट ल्याउने ?”, कटुवाललाई प्रथाको रुपमा नराखेर अब पेशा बनाउनुपर्नेमा उनको जोड छ । वडाबाट केही सहयोग भयो भने यो पेशा पनि जोगिने र आफूलाई पनि जीविकोपार्जनमा सहयोग पुग्ने जैसीको भनाइ छ ।
पोखरा महानगर भित्र रहेको कटुवाल प्रथा जोगाउने पक्षमा गाउँवासी रहे पनि वडा कार्यालयबाट अहिलेसम्म कुनै योजना नबनाइएको पोखरा-१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिना बताउँछन् । “यो एउटा संरक्षण गर्नुपर्ने प्रथा हो, दूरदराजका ठाउँमा टेलिफोनको सबै सुविधा पनि सबैसँग छैन्”, वडाध्यक्ष तिमिल्सिना भन्छन्, “हिजोको प्रथा जोगाउने कि परिमार्जन गर्ने भन्ने सवाल उठेको छ ।”
कटुवाल जस्तै अन्य प्रथा पनि महानगर भित्र रहेकाले ती प्रथा खोजी गर्दै महानगर कार्यालय नै संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ । “धेरै ठाउँमा यस्तो प्रथा देख्नै पाइँदैन । यसलाई जीवन्त राख्न सकियो भने हाम्रो परम्परा धानिन्छ”, वडाध्यक्ष तिमिल्सिना भन्छन्, “अहिलेको पुस्ताले त धानिरहेको छ । अब आउने पुस्ताले यो काम गर्छ कि गर्दैन भन्ने चुनौती पनि छ ।”