काठमाडौं, फागुन ३ । टर्की र सिरियामा गएको सोमबारको विनाशकारी भूकम्पबाट अति प्रभावित तीन प्रान्तका भग्नावशेषमुनि पुरिएका मानिसहरूको उद्धारकार्य अझै जारी रहेको छ ।
फेब्रुअरी ६ मा दक्षिणपूर्वी टर्की र उत्तरी सिरियामा नौ घण्टाको फरकमा गएको ७.८ र ७.५ रेक्टरको भूकम्पबाट मृत्यु हुनेको संख्या ४१ हजारभन्दा बढी पुगेको छ । खोज टोलीहरूले थप शवहरू फेला पारेको खण्डमा सङ्ख्या बढ्ने निश्चित छ।
यसैबीच भूकम्प गएको १९८ घण्टापछि मङ्गलबार पनि भग्नावशेषबाट ३ जनाको उद्धार गरिएको छ । दक्षिणी टर्कीमा भग्नावशेषबाट एक युवतीलाई बचाइएको छ। भूकम्पको केन्द्रविन्दु नजिकैको मध्य काहनमारसमा भत्किएको भवनबाट थप दुई जनाको उद्धार गरिएको छ । ती मध्ये एक १७ वर्षीय युवक रहेको एजेन्सीले जनाएको छ । यद्यपी उद्धार गरिएकाहरुको स्वास्थ्य अवस्था भने स्पष्ट छैन ।
भूकम्पले टर्कीका १० प्रान्त र उत्तरपश्चिम सिरियाको ठूलो क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाँचेकाहरूले ध्वस्त शहरहरूको बीचमा पनि कठिन परिस्थितिको सामना गर्दै चिसोमा बाहिर सुत्न बाध्य छन्।
यस्तै, भूकम्प प्रभावित टर्कीमा तैनाथ राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ टोली) का तालिम प्राप्त छवटा कुकुर भग्नावशेषमा फसेका मानिसको खोजीमा अत्यन्त प्रभावकारी साबित भएका छन् । अन्य देशका टोलीले पनि कुकुरको मद्धत लिएका छन् ।
#टर्की-सिरिया भूकम्प