Kath khabar
नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ


                काठमाडौं, फागुन ३ ।  नक्कली सवारी चालक अनुमती पत्र बनाउने समूह पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुको खोजतलास गर्ने क्रममा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त कार्यालयमा संग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका अनुसार कञ्चन गुरुङलाई यही माघ २९ गते काठमाडौंको रामशाहपथ, अनिल राईलाई सामाखुशी र राजन तामाङलाई बालाजु पैयाँटारबाट यही फागुन १ गते पक्राउ गरी ति व्यक्तिहरुलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि यही फागुन २ गते जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको  छ । 

प्रारम्भिक अनुसन्धानबाट कञ्चन गुरूङले आफ्नो फोटो, गंगा तामाङको नामको सवारी चालक अनुमतिपत्र र ५ हजार रुपैंयाँ आफ्ना चिनजानका मानिस अनिल राईलाई दिएका थिए । त्यसपछि अनिल राईले आफुले १५ सय रुपैंयाँ लिई उक्त फोटो, कागजात र ३५ सय रुपैयाँ राजन तामाङलाई दिएका दिए । पछि राजन तामाङले ३५ सय रुपैंयाँ लिई गंगा तामाङको सवारी चालक अनुमतिपत्रमा कञ्चन गुरूङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको अनुसन्धानबाट खुलेको छ । 

साथै निजले अन्य धेरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध गराएको खुल्न आएकोले थप अनुसन्धान कार्य जारी उक्त कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार राजन तामाङ यसअघि पनि लिखत सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरबाट पक्राउ परी मुद्दा चलेको खुल्न आएको  छ । 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update