Kath khabar
रेसुंगा वन क्षेत्रमा ५ नयाँ प्रजातिका चरा फेला

 

                      गुल्मी, फागुन ३ ।  गुल्मीको रेसुंगा वन क्षेत्रमा थप ५ प्रजातिका चरा फेला परेका छन् ।

पक्षी संरक्षण सङ्घ गुल्मीले रेसुङ्गामा चरा सम्बन्धी अध्ययन गर्दा टुइँसी सुँगा, कोटेरो मुनियाँ, चञ्चले सुड्सुडिया, चखेवा चखेवी र तिलहरी प्रजातीका चरा फेला परेका हुन् । नेपालमा पाइने ८९२ प्रजातिका चरा मध्ये हाल २९ प्रतिशत यहाँ पाइने गरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए ।

यो सँगै रेसुङ्गामा २५८ प्रजातिका चराहरु छन् । यसअघि २५३ प्रजातिका थिए । यहाँ विश्वकै दुर्लभ मानिएका रणमत्त महाचील, चील, सेतो गिद्ध, गोमायु महाचील, डङ्गुर गिद्ध र सुन गिद्धहरु पाइन्छन् ।

चराको अध्ययनपछि पुस्तक विमोचन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा चरासँगै ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थल भएको बताए । उनका अनुसार यस क्षेत्र चराहरुको बासस्थान बन्दै गएको छ ।

यस क्षेत्रमा दुर्लभ चरा भेटिए पनि जलवायु परिवर्तनका कारण जोगाइराख्न चुनौती रहेको सङ्घले जनाएको छ । रेसुङ्गामा वन संरक्षण क्षेत्रको जङ्गल ७,९०३ हेक्टर क्षेत्रफल छ ।

यहाँ २५८ चरासँगै, १२५ वनस्पति, ७१ जडीबुटी, २५ स्तनधारी, १९ पुतली, १९ सरिसृप, ११ माछा र ६ प्रजातीका उभयचय छन् । रेसुङ्गालाई सन् २००५ मा महत्वपूर्ण चराको क्षेत्रका रुपमा पहिचान गरिएको थियो । सामुन्द्रिक सतह देखि २,३५० मिटर उचाइमा रहेको रेसुङ्गा क्षेत्र ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र मानिन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update