काठमाडौं, फागुन ४ । गत सोमबार काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित लोत्से मलमा सञ्चालित मोबाइल पसलमाबाट मोबाईल लगायतका विभिन्न सामानहरु लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दैलेख भगवती गाउँपालिका-३ घर भई काठमाडौँ तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३५ वर्षीय नवीन खड्गी, रुपन्देही खैरेनी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
काठमाडौं महानगरपालिका-२६ गोङ्गबु नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनुपर्ने, माइक्रोबस व्यवस्थापन लगायतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरुले गरेको आन्दोलनको क्रममा सोही ठाउँस्थित लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेको काठमाडौँ सुपर मार्केटमा तोडफोड गरी पसलभित्र रहेका मोबाइल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरू लुटपाट गरेको घटनाको थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै उनीहरूबाट डिजिटल घडी, घडीको चार्जर, एयरफोन, मल्टिप्लग, मोबाइल २ थान, ४ हजार रुपैयाँ बराबरको एनटिसी र एनसेलको रिचार्ड कार्ड लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको छ ।