
काठमाडौं, फागुन ४ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा ‘प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९’ आयोजना हुने भएको छ ।
आयोजक समितिले इटहरीमा अवस्थित डिथ्री अनलाइनको कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव यही फागुन ७ गते देखि १७ गते सम्म सञ्चालन हुने जानकारी गराइएको छ । महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ । महोत्सवमा प्रदेश १ मा बनेका लामो तथा छोटो फिल्महरूलाई विशेष रुपमा प्रदर्शन गरिदैछ । जसको लागि फिल्महरू दर्ता गर्ने प्रक्रिया समेत चलिरहेको सम्मेलनमा बताइयो ।
यस्तै इनरुवाको नाम उच्च राख्ने शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराए । प्रतिभा प्रवर्द्धन तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सवको भएका कारण बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिताको समेत महोत्सव अवधिमा आयोजना गरिने भएको छ । महोत्सवलाई अझ रोचक बनाउन नेता भर्सेज अभिनेता फुटबल खेल तथा हरेक साँझ सांस्कृतिक कार्यक्रम र विभिन्न जातीय झाकी प्रदर्शन गरिने प्रधानले बताए ।
सुरुवाती चरणमा महोत्सव ५ दिने गरिने तयारी रहेको भएपनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याइएको छ । प्रदेश १ मा जन्मिएर लोकप्रिय बनेका कलाकारहरूको जमघट पनि महोत्सवमा देख्न सकिने बताईएको छ । प्रदेश १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका हस्तिहरुलाई ’प्रदेश १ तारा’ उपमाले सम्मान समेत गरिने अध्यक्ष प्रधानले बताए । कार्यक्रममा सहभागी अतिथिहरूलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमा महासंघ अध्यक्षसँगै महासचिव दिनेश कोइराला, महोत्सव समितिका सदस्य शंकर महाजु, फिल्म निर्देशक भीषण राई, पुर्वान्चल फिल्म एण्ड इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका सिइओ रोनिश राउत लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।