काठमाडौं, फागुन ४ । नेपाली काङ्ग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिँदैछ ।
बुधबार राति ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका भण्डारीलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको कांग्रेसका युवा नेता मोती भण्डारीले जानकारी दिएका छन् ।
नेता डा. भण्डारीको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । उनलाई अस्पतालले एक विज्ञप्ति जारी गरी नेपालमा यथोचित उपचार सम्भव नभएकोले नेपालबाहिर लैजान सिफारीस गरेको थियो ।
हिजो राति बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ । नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५/३० प्रतिशत भाग जलन भएको अस्पतालले जनाएको छ ।