Kath khabar
महाशिवरात्रि तथा नेपाली सेना दिवसको अवसरमा प्रधान सेनापतिद्वारा पुरस्कार वितरण (फोटोफिचर)



               काठमाडौं, फागुन ५ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६० औं वार्षिक उत्सवका अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा गण/गुल्म तर्फ प्रथम हुने चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्गदल गण र कोशी टप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ श्री दुर्गादल गुल्मलाई सैनिक मञ्चमा आयोजित विशेष कार्यक्रममा आज मिति २०७९ फाल्गुण ०४ गते ट्रफि तथा पुरस्कार प्रदान गर्नु भएको छ ।

सोही अवसरमा प्रधान सेनापति महारथी शर्माले सैनिक ड्रिल प्रतियोगिता २०७९ मा प्रथम हुने श्री उपत्यका पृतनालाई पुरस्कार वितरण गर्नुका साथै नेपाली सेनाका बहालवाला रथीवृन्द ७, अधिकृत १२१, पदिक तथा अन्यदर्जा ४८८ र सैनिक श्रीमती संघका पदाधिकारीहरू ११ जनालाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुभयो ।

प्रधान सेनापति महारथी शर्माले मानार्थ उप सेनानी पदमा पदोन्नति हुनु भएका ९४ जनालाई दर्ज्यानी चिन्ह, सहायक रथी डा. प्रेम सिंह बस्न्यात (अ.प्रा.) लाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान, सुवेदार पुरमल बस्नेत (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट कृषक सम्मान, जमदार टंकबहादुर कार्की (अ.प्रा.)लाई प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान, जमदार टहलबहादुर कार्की (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उद्धार सम्मान, अमल्दार स्वर्गीय सुरेन्द्र वि.सी.को श्रीमती शोभा वि.सी.लाई प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान, एकल महिला तर्फ हुद्धा स्वर्गीय केशव बहादुर कार्कीको श्रीमती विनु कार्की र अवकास प्राप्त तर्फ जमदार सुक बहादुर विश्वकर्मा (अ.प्रा.) लाई प्रधान सेनापति सफल लघुवित्त उद्यमी सम्मान अन्तर्गत पुरस्कार वितरण गर्नुभयो ।

नेपाली सेनाले हरेक वर्ष सेना दिवसका अवसरमा विभिन्न प्रतियोगिताहरूमा विजयी हुने एवं प्रसंशनीय कार्य गर्ने सेवारत र अवकाश प्राप्त सैनिकहरूका साथै सैनिक इकाईहरुलाई पुरस्कृत गर्ने गरेको छ । यस वर्षको सेना दिवस २०७९ फाल्गुण ०६ गते महाशिवरात्रिका दिन मनाइदैछ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update