Kath khabar
राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न


                     काठमाडौं, फागुन ७ । साढे दुई लाख अवलोकनकर्ताका साथै पाँच करोड रुपियाँको कारोबार गर्दै राजधानीमा नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो । मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचारप्रसारमा सहयोग पुर्‍याउने भन्दै उहाँले भन्नुभयो, “देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ ।”

घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सँधै तयार रहेको अर्थमन्त्री पौडेलको भनाई थियो । महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले मेला आयोजना गर्न विभिन्न कठिनाइ रहँदा रहँदै पनि उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल तथा उद्यमीहरूको सहयोग गर्ने आश्वासनले मेलाको आयोजना गरिएको बताउनुभयो । मेलाले देशभरकै उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उहाँले बताउनुभयो ।

सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गम्भिर भएर लाग्नुपर्ने उहाँको भनाई थियो । धेरै समस्या हुँदा हुँदै पनि मेला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै मेला संयोजक शोभा गुरुङले भन्नुभयो “देशको औद्योगिक क्रान्तिमा घरेलु उद्यमीहरूले गरेको योगदानको उचित कदर हुन सकेको छैन ।” मेलामा कति खरिदबिक्री भयो, कति मान्छे आए भन्नु भन्दा पनि स्वदेशी वस्तुको बजारीकरण कति हुन सक्यो त्यो महत्वपूर्ण रहेको मेला संयोजक गुरुङले बताउनुभयो । सरकारले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता गरेकोले र सबै उद्यमी व्यवसायीहरूको सहयोगमा आगामी दिनमा पनि मेलाको आयोजना गरिने उहाँको भनाई थियो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो । महोत्सवमा प्राकृतिक रेशाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरुमा अवलोकनकर्ता तथा उपभोक्ताहरुको आकर्षण देखिएको थियो ।

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका  कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्णालीको अन्नी) सेटमा जौको लड्डू, फापरको मः मः,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरुले निकै मन पराएको पाइयो । यसैगरी राउटे समुदायले बनाएका काठका सामग्रीहरू, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको थियो ।

कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक “नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला-२०७९” नामबाट आयोजना भइरहेको थियो । मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु र कृषि व्यवसायमा संलग्न उद्यमीहरु लाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं” र “मिहनेत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने रहेको थियो ।

प्रदर्शनीकै अवसरमा बिहीबार महिला उद्यमीहरुका समस्या, चुनौति र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । साथै शुक्रबार पनि उद्यमको लागि नवीकरणीय उर्जा र स्वदेशी वस्तुको प्रवर्द्धन तथा अर्गानिक सर्टिफिकेसन विषयक छुट्टा छुट्टै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । समापन समारोहमा मेलामा सहभागी उद्यमीहरुमध्येबाट उत्कृष्ट उद्यमीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो ।

पुरस्कृत हुनेहरुमा हिमालयन अर्गानिक गार्डेन माडी, चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रा.लि.बुढानिलकण्ठ काठमाडांै द्धितीय, तामाङ्ग झोला तथा राडीपाखी उद्योग जुम्ला तृतीय तथा सान्त्वनातर्फ हिमालय अल्लो तथा सूती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ्ग, सेमी घरेलु ढाका उद्यौग धनकुटा, कल्पना बेम्बो हाण्डिक्र्याफ्ट ललितपुर रहेका छन् ।

समापन समारोहमा महासंघका निवर्तमान अध्यक्ष श्याम गिरी, सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासचिव डम्बर प्रसाद रेग्मी, काठमाडौं जिल्ला अध्यक्ष पद्यमकुमारी कार्की, केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, अर्गानिक एसोसिएसनका अध्यक्ष दिपक प्रकाश बाँस्कोटालगायतले बोल्नुभएको थियो ।


 

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update