कैलाली, फागुन ७ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्। कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्।
कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए । चौधरीले शुक्रबार नै ८ लाख धरौटी बुझाइसकेका छन्।
२०६६ भदौ ३ मा ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरी चौधरी फरार सूचीमा रहेका थिए। जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।
उनलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।