काठमाडौं, फागुन ८ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा ५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार मेहबुब आलम र आदिल अन्सारी, नितेश शाह, नविन कँडेल र रवि माझी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गत पुस ९-२७ सम्म भएको नेपाली टी-२० लिगमा भएको स्पट फिक्सिङबारे सीआईबीले अनुसन्धान गरेपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।
स्पट फिक्सिङकै आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारीले भने आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आफूलाई फिक्सिङका लागि अप्रोच आएको भए पनि त्यसलाई आफूले अस्वीकार गरेको उनको दाबी छ ।
आफुलाई भएको अप्रोचका विषयमा एन्टी करप्सन युनिटलाई जानकारीसमेत गराएको बयान आदिलले प्रहरीलाई दिएका छन् । खेलका क्रममा फ्याकेको ‘नो बल’ नियतवश नभएको उनले बताएका छन् ।