Kath khabar
९८ वर्षीय पूर्व राष्ट्रपति जिमी कार्टर अस्पतालको सट्टा बाँकी जीवन घरमा परिवारसँग बस्दै

 

                     अमेरिका, फागुन ८ ।  अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले अतिरिक्त चिकित्सा हस्तक्षेपको सट्टा घरमै अस्पताल हेरचाह प्राप्त गर्ने र आफ्नो बाँकी समय आफ्नो परिवारसँग बिताउन निर्णय गरेका छन् । उनी कलेजो र मष्तिष्क रोगबाट पीडित छन् ।

चिकित्सक टोलीको रेखदेखमा घरमै आराम गर्ने निर्णय पूर्वराष्ट्रपति कार्टरले गरेका कार्टर सेन्टरले शनिबार एक वक्तव्य निकालेर बताएको हो । पूर्वराष्ट्रपति ९८ वर्षीय कार्टर ह्वाइट हाउसबाट बाहिरिएपछि लामो जीवन बाँच्ने अमेरिकाको इतिहासकै पहिलो व्यक्तित्व हुन् । उनले जनवरी १९७७ देखि जनवरी १९८१ सम्म अमेरिकाको ३९औँ राष्ट्रपतिका रूपमा देशको नेतृत्व गरेका थिए ।

आर्थिक सङ्कटबाट गुज्रिएको अमेरिकी अर्थतन्त्रलाई गतिशील तुल्याउने देखि इरान सङ्कट, ऐतिहासिक इजिप्ट-इजरायल शान्ति सन्धि गराउनेसम्मको केन्द्रीय भूमिका निर्वाह गरेका पूर्वराष्ट्रपति कार्टर पूर्वअभिनेता तथा क्यालिफोर्नियाका गभर्नर रोनाल्ड रेगनसँग सन् १९८० को चुनावमा पराजित भएका थिए ।

मानवीय सहायता, गरिबीको चपेटामा परेका अफ्रिकी महादेशका मुलुकका साथै विश्वका अन्य भागमा बढेको द्वन्द्व अन्त्य गर्न पूर्वराष्ट्रपति कार्टरले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । अन्तर्राष्ट्रिय द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न, लोकतन्त्र र मानवअधिकारको रक्षाका साथै आर्थिक एवम् सामाजिक विकासको प्रवर्द्धनमा अथक प्रयास गरेबापत उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update