काठमाडौं, फागुन ९ । फागुन ९ गते मंगलबार काठमाडौंको दशरथ रंगशालामा सांगीतिक कार्यक्रम ‘नेभरल्यान्ड कन्सर्ट २०२३’ हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने आयोजक आइ लाइभ नेपालले जानकारी दिएको छ ।
गीत, संगीत मन पराउनेहरूका लागि एक अनौठो महशुस गर्ने ठाउँ बनोस् भन्ने उद्देश्यले राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार समेटेर आयोजना गर्न लागेको आइ लाइभ नेपालका प्रवक्ता रवीन्द्र कार्कीले जानकारी दिए । पत्रकार सम्मेलनमा कार्कीले कार्यक्रमले नेपालको गीत संगीतलाई माथि लैजान सहयोग पुग्ने र नेपालमा सांगीतिक पर्यटनको विकासमा पनि सहयोग पुर्याउने बताए ।
‘नेभरल्यान्ड २३ एउटा अमेजिङ अनुभव होस् । नेपाली संगीतप्रेमीहरूलाई नयाँ र छुट्टै किसिमको माहोल मिलोस् भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरू राखेर दशरथ रंगशालामा सांगीतिक पर्यटनलाई बढाउने उद्देश्यले यो कार्यक्रम गरिरहेका छौँ,' कार्कीले भने, 'यसको फाइदा पर्यटन विकास, म्युजिक इन्डस्ट्रीको विकास हुन्छ भन्ने आशा छ ।'
नेभरल्यान्ड कन्सर्ट नेपाली समाजमा नयाँ र प्रभावकारी हुनेमा विश्वस्त रहेको पनि उनको भनाइ छ । कन्सर्टअगाडि आयोजकले क्लब बिट समेत राखेको छ । रोड टु नेभरल्यान्ड नाम दिइएको यो कार्यक्रममा १७ फेब्रुअरीमा नेपाली गायक नवीन के भट्टराई र अकिल सचदेवा र १८ फेब्रुअरीमा सिक्किमका र्यापर यूएन्डबी क्लब प्लाटिनममा प्रस्तुत हुनेछन् ।
ग्ल्याबो ल्होसारको अवसर पारेर आयोजना हुन लागेको कन्सर्टको सुरक्षाका लागि ३०० बाउन्सर खटिने प्रवक्ता कार्कीले बताए । कार्यक्रमको टिकट ५ सयदेखि २५ हजारसम्मको रहेको र खल्ती एपबाट काट्न सकिने उनले बताए ।
'प्याराफिटको टिकट ५ सय, पछि ७ सय हुनसक्छ, सुरुवाती चरणमा भने ५ सय छ । नर्मल स्ट्यान्डिङको अहिले १ हजार छ, पछि बढ्छ । त्यसैले चाँडो भन्दा चाँडो टिकट बुक गर्नुहोला भीआईपीको १५ सय छ, पछि बढ्छ,' कार्कीले भने, 'फ्यान पी स्ट्यान्डिङ छ, त्यसमा ५ हजार छ, पछि बढ्छ । फ्यानडम छ, २५ हजार छ ।’
कन्सर्टका लागि स्टेज तथा म्युजिक सिस्टम भारतबाट मगाइएको प्रवक्ता कार्कीले बताए । यसअघि एन्फाले लिग सुरू हुनअघि मैदानमा कन्सर्ट हुन लागेकोमा असन्तुष्टि जनाएको थियो। राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको दशरथ रंगशालालाई भाडामा दिने अधिकार परिषदको हुन्छ।
परिषदले फुटबल खेलका लागि एन्फालाई निस्शुल्क मैदान उपलब्ध गराउने गरेको छ। खेलबाहेकका अरू कार्यक्रमको लागि परिषदले मैदान दिँदा आलोचना हुने गरेको छ।