पोखरा, फागुन १० । कास्कीको पोखरास्थित हिमालयन गल्फ कोर्समा आज देखि सूर्य नेपाल गल्फ टुर, २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न शुरु हुँदैछ। सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औँ संस्करण हो।
माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिक रूपमा सुन्दर गल्फ कोर्समा ३ दिनसम्म प्रतियोगिता सञ्चालन हुनेछ। प्रोफेसनल गल्फर्स एशोसिएशन नेपालको आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने उक्त प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर प्रतियोगी सहभागी हुने एशोसिएशनका महासचिव दीपक आचार्यले जानकारी दिए।
यस वर्ष प्रतियोगिताको नगद राशि वृद्धि गरेर रु. ८ लाख पुर्याइएको छ। प्रतियोतिाको विजेताले रु. १ लाख ४० हजार, उपविजेताले रु. ९० हजार र तेस्रो हुने खेलाडीले रु. ६७ हजार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।