काठमाडौं, फागुन ११ । इजाजतपत्र नलिई वित्तिय कारोबार गर्ने (हुण्डी) कार्यमा संलग्न रहेको अभियोगमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कुलेश्वर एरियामा केही व्यक्तिले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश/निर्देशन विपरीत हुने गरी इजाजतपत्र नलिई वित्तिय कारोबार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रुपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो ।
उनले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघिपनि २०७५ साउन ७ गते भारतीय रुपैयाँ २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।