काठमाडौं, फागुन ११ । आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृखंला खेल्न सन्दीप लामिछाने युएई जान नपाउने भएका छन् । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्य टोलीको घोषणा गरेको छ । युएई जाने टोलीमा उनी परेका छैनन् ।
नाबालिग बलात्कारको आरोप लागेका सन्दीपको मुद्धा अहिले जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।उनलाई अदालतले विदेश जान रोक लगाएको छ । सन्दीपले राष्ट्रिय टिमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गते (भोलि) लाई पेसी तोकिएको छ ।
लामो समयपछि मैदानमा फर्किएका सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु श्रृंखलाको ४ खेलबाट १३ विकेट लिएका थिए । घरेलु श्रृंखलामा क्लिनस्विप गर्दा उनको भूमिका महत्वपूर्ण बनेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विदेश लैजानेबारे पहल गरिदिन भन्दै राखेपलाई लिखित पत्र पठाएको थियो । तर अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप यसबाट पन्छिएको छ ।
युएई जाने नेपाली टोलीमा मौसम (श्याम) ढकाल र प्रतिश जि.सी पहिलो पटक टोलीमा परेका छन् । योसँगै नेपाली टोलीमा रोहित पौडेल (कप्तान, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, आरिफ शेख रहेका छन् ।