काठमाडौं, फागुन १२ । काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि सङ्कलित कुहिने फोहोरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु गरेको छ । महानगरको कृषि तथा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले महानगरको टेकुस्थित फोहोर ट्रान्सफर स्टेसनमा बिहीबारबाट कम्पोष्ट मलको परीक्षण उत्पादन शुरु गरिएको जानकारी दिए ।
उनका अनुसार करिब १२ टन कुहिने फोहोरबाट कम्पोस्ट मलको उत्पादन शुरु गरिएको हो । फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न करिब १ देखि ३ महिनासम्मको समय लाग्ने गर्दछ ।
प्रत्येक वडास्तरबाट नै कम्पोस्ट मल उत्पादन गर्ने योजना महानगरको रहेको बताउँदै उनले अब छिट्टै नै फोहोर विसर्जन गर्दै आइएको बन्चरेडाँडाबाट समेत कम्पोस्ट मलको उत्पादन शुरु गरिने जानकारी दिए । कम्पोस्ट मल उत्पादनको लागि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याइने अभियानलाई कडाइका साथ कार्यान्वयन गर्नुुपर्ने बताउँदै विभाग प्रमुख श्रेष्ठले कम्पोस्ट मल उत्पादनमा महानगरपालिकाले वडालाई उपकरण र भाँडो खरिदमा सघाउने जानकारी दिए ।
महानगरको कूल ३२ वडामध्ये भित्री ९ वडा बाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन। हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ।
विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ। ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ।