Kath khabar
प्रधानमन्त्री प्रचण्डको कतार भ्रमण रद्द साथै दाहालद्वारा परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमणमा पनि रोक

 

                  काठमाडौं, फागुन १५ ।  प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी शुक्रबार देखि हुने तय भएको कतार भ्रमण रद्द भएको छ ।

अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन आगामी शुक्रबार दाहाल कतार जाने सबै तयारी गरेपछि भ्रमण रद्द गरिएको हो । प्रधानमन्त्री दाहालको सचिवालयले अकस्मात भ्रमण रद्द गर्नुलाई देशमा राष्ट्रपतिको निर्वाचन नजिकिएको बहाना बनाएको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार मात्रै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री दाहालको कतार भ्रमणको कार्यक्रम सार्वजनिक गरेको थियो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल फागुन १९ गते शुक्रबार सम्मेलनमा सहभागी हुन कतारको दोहा जाने जानकारी दिनुभएको थियो ।

तर परराष्ट्र मन्त्रालयले भ्रमणको सबै कार्यक्रम सार्वजनिक गरिसकेपछि प्रधानमन्त्री दाहालले भ्रमण रद्द गरेर अर्को कूटनीतिक अपरिपक्कता प्रदर्शन गर्नुभएको छ साथै उँहाले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण पनि रोक्नुभएको छ ।

मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोक्नुभएको हो ।

प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भन्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बन्नुभएकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाउनु भएको हो ।

परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जेनेभा जान लाग्नुभएको हो । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update