Kath khabar
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले पायो १ सय २१ रनको लक्ष्य

 

                    काठमाडौं, फागुन १५ ।  आईसीसी यू-१९ वर्षमुनिको आईसीसी विश्व कप क्रिकेट एसिया छनोटमा हङकङले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको छ ।

यूएईमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६ ओभर ३ बलमा १२० रन बनाउँदा अलआउट भयो । हङकङका लागि पार्थ भगवतले सर्वाधिक ३६ रन बनाए । बलिङतर्फ नेपालका हेमन्त धामीले ३ तथा आकाश चन्द र सुवास भण्डारीले २/२ विकेट लिए ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन र कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । अङ्क तालिकामा नेपाल र यूएईको समान ४ अङ्क भए पनि नेट रनरेटको आधारमा यूएई शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा छ ।

प्रतियोगितामा नेपाल सहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update