काठमाडौं, फागुन १५ । नेकपा एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका छन् । सोमबार बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
मन्त्रिपरिषदमा एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, विमला राई पौड्याल परराष्ट्रमन्त्री, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री, हरि उप्रेती रक्षा मन्त्री, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र राजेन्द्रकुमार राई भूमिसुधार मन्त्रीको जिम्मेवारीमा रहनु भएको थियो ।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । नेकपा एमालेले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्ती गर्ने सम्मको धम्की दिएपछि सरकार छोडेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताएका थिए ।