काठमाडौं, फागुन १५ । सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको छ । उच्च अदालत पाटनले उनलाई विदेश जान प्रतिबन्ध लगाएको निर्णय सर्वोच्चले बदर गरिदिएको हो।
सर्वोच्चको आदेशमा सन्दीपले अब विदेशमा कुनै प्रतियोगिता खेल्न जाँदा प्रतियोगिता सकिएको १५ दिनमा नेपाल आई काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ।
लामिछानेले यूएईमा आयोजना भइरहेको नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित आईसीसी विश्वकप लिग-२ शृङ्खलामा खेल्न जानका लागि गत बिहीवार सर्वोच्च अदालतमा निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनी विरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। अदालतले लामिछानेलाई यूएई जान अनुमति मागिएको निवेदन र धरौटीमा रिहा गर्ने निर्णय बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दायर गरेको निवेदन दुवैलाई सँगै राखेर सुनुवाइ गरेको थियो।
तर सर्तसहित उनलाई रिहा गर्ने पाटन अदालतको आदेशलाई चुनौती दिँदै महान्यायाधिवक्ताको कार्यालयबाट सर्वोच्च अदालतमा दायर गरिएको निवेदन शुक्रवार हेर्न नभ्याइनेमा राखिएको थियो। अदालतको आदेशकै कारण नेपाल क्रिकेट सङ्घले यूएई शृङ्खलाका लागि राष्ट्रिय टोलीमा लामिछानेको नाम समावेश नगर्ने निर्णय लिएको थियो।
लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाडौं उपत्यका छाड्नुपरेको खण्डमा समेत बाहिरिने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो।