काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षमा भोट माग्दै नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउनुभएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि ओलीसँग भोट माग्नुभएको हो । पत्रमा उहाँले रामचन्द्र पौडेल संवैधानिक दायित्व राजनीतिक आग्रहहरुभन्दा पर रहेर निभाउन सक्ने सबल व्यक्तित्व हुनुहुन्छ भन्दै पत्र लेख्नुभएको छ ।
यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।
राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिन सक्ने कार्यसुची रहेको छ । राष्ट्रपतिको लागि यहि फागुन २५ गते निर्वाचन हुँदैछ ।