काठमाडौं, फागुन १६ । अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउने ३५ वर्षीय कप्तान लियोनल मेस्सीले फिफा पुरुष उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । मेस्सीले फ्रान्सका युवा स्टार फुटबलर किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै यो अवार्ड जितेका हुन् ।
गत वर्षको विश्वकप फुटबलमा मेस्सी र एम्बाप्पेले आ-आफ्ना टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । लियोनल मेस्सीले दोस्रो पटक यो अवार्ड जितेका छन् । योसँगै उनले पोर्चुगलका अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डो र पोल्याण्डका रोबर्ट लेवान्डोस्कीको कीर्तिमान पनि बराबरी गरेका छन्।
पीएसजी क्लबबाट खेल्ने मेस्सी यसअघि सन् २०१९ मा यो अवार्डबाट सम्मानित भएका थिए । रोनाल्डोले यो अवार्ड सन् २०१६ र २०१७ मा लगातार दुई वर्ष जितेका थिए । गत वर्ष कतारमा भएको विश्वकप फुटबलमा ऐतिहासिक प्रदर्शन गरेका लियोनल मेस्सीले केलियन एमबाप्पेसँग प्रतिस्पर्धा गरेका थिए । मेस्सीले ५२ र एम्बाप्पेले ४४ अंक पाए ।
३५ वर्षीय लियोनल मेस्सीलाई फिफाका २११ सदस्य राष्ट्रहरूबाट छानिएका पत्रकार, अनलाइन फ्यानहरूले भोटिङमा सर्टलिस्ट गरेका थिए । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि गत डिसेम्बरमा विश्वकप फुटबलको उपाधि जितेको थियो । अहिले मेस्सी, रोनाल्डो र लेवान्डोस्की दुई पटक यो अवार्ड जितिसकेका छन् ।