काठमाडौं, फागुन १६ । काठमाडौंको पाको, न्युरोडमा स्थित ताम्राकार मोबाइल कम्प्लेक्सका व्यवसायीहरूको संगठनले नयाँ नेतृत्व छनौट गरेको छ। ताम्राकार कम्प्लेक्समा व्यवसाय गरिरहेका मोबाइल व्यवसायीहरूको छाता संस्था मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको नयाँ नेतृत्वमा गुरुदत्त शर्मा सर्वसम्मत चयन भएका छन् । शर्मा यसअघि संघमा सचिवको रुपमा कार्यरत थिए ।
अध्यक्ष शर्माको नेतृत्वमा १७ सदस्यिय कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ । जसअनुसार मोबाइल व्यापार संघको वरिष्ठ उपाध्यक्षमा अनिल ढकाल चयन भएका छन भने महासचिवमा गोपाल बहादुर क्षेत्री आएका छन् । त्यसैगरी उपाध्यक्षद्वयमा विवेक शर्मा तथा कल्पना तिवारी आएका छन भने रमण पराजुली सचिव, मोती कोइराला कोषाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
यसका साथै कार्यसमिति सदस्यहरुमा निर्जश कार्की, बलराम कार्की, सरोज गौतम, रविन डाँगी, सुनिता कार्की, रामदास ठकुरी, निर्मल अर्याल, चन्द्रमान श्रेष्ठ, सपना बानियाँ चयन भएका छन् । संघको वरिष्ठ सल्लाहकारमा संजीत पौडेल तथा प्रदिप बानियाँ चयन भएका छन् । नव निर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
नव निर्वाचित अध्यक्षमा शर्माले संघले मोबाइल व्यवसायीको समस्याहरुलाई समाधान गर्दै आगामी दिनमा नयाँ योजनाहरू ल्याउने बताए । ताम्राकार कम्प्लेक्स देशकै मोबाइल व्यवसायको केन्द्र हो। त्यसैले यहाँका व्यवसायीहरूको समस्या बढ्दा देशभर असर पार्दछ । पछिल्लो समय मोबाइल व्यवसायमा देखिएको अन्य चुनौतीहरूले समेत असर पारिरहेका छ । नयाँ नेतृत्वले सबैसँग मिलेर समस्याहरु समाधान गर्नेछ, अध्यक्ष शर्माले भने ।
कार्यक्रममा संस्थापक अध्यक्ष जगत साउदले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीको हकहितमा लाग्न सुझाब दिएका थिए। यसका साथै नयाँ नेतृत्वले ताम्राकार कम्प्लेक्समा विभिन्न प्रवर्द्धनात्मक कार्यहरूका साथै व्यापार व्यवसायीमैत्री गतिविधिहरू गरिने जानकारी दिएको छ ।