Kath khabar
नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार 


                 चितवन, फागुन १६ ।  नारायणी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका ती व्यक्तिलाई सशस्त्रले तत्कालै सकुशल उद्धार गरेको हो। 

सोही जिल्लाको खैरहनी नगरपालिका-९ बस्ने २० वर्षीय मनीष महतो नदीमा हाम फालेका थिए। सो जनाकारी पाए लगत्तै नारायणी किनारमा गोताखोर सहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम (आइआरटी) पोस्ट पुल्चोकले उनलाई घटनास्थल भन्दा करिब एक किलोमिटर तल नदीको बीचबाट जीवितै उद्धार गरेको थियो। 

उद्धार पछि उनलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

यस्तै, तनहुँको आबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दीमा नदीमा बेपत्ता भएका मदन घिमिरेको शव सशस्त्र प्रहरीको गोताखोरले आज फेला पारेको छ। ३६ वर्षीय घिमिरे यही फागुन १२ गतेदेखि सम्पर्क विहीन भएका थिए। 

उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दी नदिको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी हराएको आशंका गरिएको थियो ।

सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोलीले खोजी कार्य गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको हो । उनको शव पोष्टमार्टमको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update