काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा संघ र प्रदेशका सांसदहरूको एउटै सम्पर्क कार्यालय खुलेको छ । चाबहिल पहेँलो पुल (भत्केको पुल) मा मंगलबार सांसद गगन थापाले सम्पर्क कार्यालयको उद्घाटन गरेका छन् । क्षेत्र नं ४ का संघ तथा प्रदेशका जनप्रतिनिधिले एकैठाउँबाट विकासे गतिबिधिका काम तथा सम्पर्क गर्न सहज हुने हिसाबले खोलिएको कार्यालयको उद्घाटन कार्यक्रममा संघका सांसद स्वयम् गगन थापा सहित प्रदेशसभा सांसदहरू श्रीराम लामिछाने, याङकिला शेर्पा र मिना पराजुलीको उपस्थित थियो ।
गठबन्धन दलका कार्यकर्ताहरू सहितको कार्यक्रममा माओवादी केन्द्र र एकीकृत समाजवादीका क्षेत्रीय प्रमुखहरू डम्बर अधिकारी र ध्रुवराज न्यौपानेले सम्बोधन गरेका थिए । चुनावमा व्यक्त गरिएको वाचा अनुसार एकै ठाउँमा कार्यालय खोलेको बताउँदै प्रमुख अतिथि गगन थापाले सम्पर्क कार्यालयलाई काँग्रेस सांसदको कार्यालय नबनाई सबैको बनाउने हेतुले गठबन्धन दल सहितको उपस्थिति उद्घाटन गरिएको बताएका थिए । थापाले चुनावमा गरिएको बाचालाई सम्बोधन गर्न आफू हरेक मोर्चामा तयार रहेको पनि बताए ।
नेपाली काँग्रेसका महामन्त्री समेत रहेका थापाले राजनीतिक प्रशंग उल्लेख गर्दै अहिले जनमत अनुसारको सरकार बन्न लागेकाले आशा जागेको बताए । उनले केन्द्र र सातै प्रदेशमा कांग्रेस सहित ८ दलको गठबन्धनको सरकार बन्ने भन्दै अब छिटोभन्दा छिटो सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्ने बताए ।
हामीले चुनावमा गर्न नमिल्ने गठबन्धन गर्यौँ, धेरैले असहमति पनि जनाउनुभयो । तैपनि कलममा भोट हाल्ने साथीहरूले रुखमा भोट हाल्नुभयो, रुखमा भोट हाल्नुपर्ने मैले कलममा पनि भोट हालेँ, फरक-फरक उद्देश्य भएका दलले गठबन्धन गरे पनि स्थायी सरकार दिन्छौँ, ५ वर्षसम्म यो-यो काम गर्छौं भनेर जनताको बीचमा वाचा गर्यौँ,’ थापाले भने, ‘त्यहीअनुसार चुनावमा जनमत व्यक्त भयो, तर पुस १० मा देशमा दुर्घटना भयो । हामीले चुनावमा गरेको वाचामा कायम रहेनौँ । अहिले ढिलो भए पनि हामी निर्वाचनका बेलाको गठबन्धनलाई एक ठाउँमा उभ्याउन सफल भएका छौँ ।’ कार्यक्रममा क्षेत्र नं ४ का २०० जनाजति नेता कार्यकर्ता एवम् जनसामान्यको उपस्थिति रहेको थियो ।