Kath khabar
राष्ट्रपति भण्डारीलाई भाडाको घरमा बसे २ लाख, आफ्नै घरमा बसे मासिक १ लाख दिइने

 

                 काठमाडौं, फागुन १६ ।  आगामी फागुन २८ गतेदेखि राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिँदैछ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनबाट राष्ट्रपति चयन भइसक्ने भएकोले कार्यकाल सकिएकै दिन भण्डारीले शितल निवास छाड्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

शितल निवास छाडेपछि भंगालमा रहेको आफ्नै निजी घरमा जाने तयारीमा राष्ट्रपति भण्डारी रहेकी छन् । त्यसको लागि अहिले तीब्र गतिमा मर्मत संहारको काम समेत भइरहेको छ । यद्यपि उनी सोही घरमा जाने कि अन्तै सुविधासम्पन्न घर भाडामा लिएर बस्ने ? भन्नेमा भने यकिन नभइसकेको गृहमन्त्रालयका अधिकारीहरुले बताएका छन् । उनको सेवा सुविधा सम्बन्धी विषय गृहमन्त्रालयले हेर्ने भएको भए पनि अहिलेसम्म गृहमा यसबारे जानकारी पुगेको छैन । 

मन्त्रिपरिषद् बैठकबाट निर्णय नै गरेर गृह मन्त्रलाय मार्फत सेवा सुविधा प्रदान गर्ने विषयमा गृह मन्त्रालयले तयारी गरिरहेको हो । गृह मन्त्रालयका अनुसार यदि भण्डारी आफ्नै घरमा बसेको खण्डमा मर्मत संहार बापत मासिक  १ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने छ भने अन्यत्र भाडा लिएर बसेको खण्डमा मासिक २ लाख रुपैयाँ सरकारले उपलब्ध गराउने छ । यस बाहेक अन्य सेवा सुविधाहरु मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम हुने गृहका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update